दफा ४६
बीमा सर्भेयरको योग्यता
(१) बीमा सर्भेयर हुन देहायको कुनै एक योग्यता हासिल गरी प्राधिकरण वा मान्यताप्राप्त संस्थाबाट बीमा सर्भेयरको तालिम प्राप्त गरेको हुनु पर्नेछ:-

(क) इञ्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको,

(ख) चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको,

(ग) स्नातक उपाधि हासिल गरेको र कुनै निर्जीवन, लघु निर्जीवन वा पुनर्बीमक वा प्राधिकरणमा कम्तीमा दश वर्ष अधिकृतस्तरको पदमा काम गरेको, वा

(घ) स्नातक उपाधि हासिल गरेको र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त बीमा सम्बन्धी इन्स्टिच्युटबाटः निर्जीवन बीमामा एशोसियटसीप वा सो सरहको उपाधि हासिल गरेको ।

(२) संस्थागत सर्भेयरको रूपमा इजाजतपत्र प्राप्त गर्नको लागि सो कम्पनीको सञ्चालक, .कार्यकारी प्रमुख वा उच्च व्यवस्थापकमध्ये कम्तीमा एक जनाले बीमा सर्भेयरको सम्बन्धित विषयको तालिम लिई परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ।

(३) संस्थागत सर्भेयरले आफूले गर्ने सर्भेसँग सम्बन्धित बिषयमा सर्भेयरको इजाजतपत्र प्राप्त गरेको व्यक्तिलाई काममा लगाउनु पर्नेछ।